१८ औं लिस्नु कप शुरु, आयोजकको बिजयी शुरुवात

तिलोत्तमा (खेलदैनिक) । रुपन्देही जिल्ला कै पुरानो मध्ये एक लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको १८ औं संस्करण शनिबारदेखि शुरु भएको छ । प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा आयोजक लिस्नु युवा क्लबले बिजयी शुरुवात गर्यो ।

कोटिहवास्थित पशुपति मा.वि. को खेलमैदानमा भएको रोमाञ्चक खेलमा आयोजक लिस्नुले देशभक्त युवा क्लब, नवलपरासीलाई ३–२ ले हरायो । लिस्नुको जितमा रुपेश थापा, अनुज थापा र अभिषेक लिम्बुले एक–एक गोल गरे । उता पराजित देशभक्तका लागि म्यान अफ द म्याच समेत घोषित कमल थापा एक्लैले दुई गोल गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल भैरव एफसी, नवलपरासी र झरना स्पोर्टस् क्लब, कुञ्जलापुरबीच हुने प्रतियोगिताका खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङ, स्याङजा र एक भारतीय टोली गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि २५–२५ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए । प्रतियोगिताको फाइनल खेल यहि श्रावण २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...