झापा गोल्डकपबाट आयोजकलाई १९ लाख नाफा

बिर्तामोड (खेलदैनिक) । गत बर्षको फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ बाट आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ ।

गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले गोल्डकप सम्पन्न गर्न एक करोड चार लाख सात हजार ७७६ रुपैयाँ खर्च लागेको बताए ।

उनका अनुसार आयोजकले गोल्डकपका क्रममा एक करोड २३ लाख पाँच हजार ८५० रुपैयाँ आर्थिक संकलन गरेको थियो । जसमा सबै खर्च कटाएर १८ लाख ९८ हजार ७४ रुपैयाँ बचत गरेको छ । ‘करिब १९ लाख रुपैयाँ खुद बचत हो’, अध्यक्ष गिरीले भने, ‘यसमा पाउनुपर्ने बाँकी जोडिएको छैन, सहयोगको बचन दिने तर रकम नदिनेलाई यसपल्ट छाडेका छौँ ।’

गोल्डकपका क्रममा बोलेको रकम अहिलेसम्म नदिएकाले पनि हिसाब सार्वजनिक गर्न ढिला भएको उनको भनाइ थियो । त्यस्तै, खेलाडीलाई क्लबले अनुबन्धन गर्ने क्रम अघि बढाइएकाले पनि बचत रकम उल्लेख्य नभएको उनले बताए । ‘अब अनुबन्धन खेलाडीलाई सोझै नगराई क्लबमार्फत गराइनेछ’, उनले भने ।

उक्त गोल्डकपमा टिकट बिक्रीबाट मात्र ४८ लाख ४८ हजार चार सय उठेको आयोजकले जनाएको छ । यो सर्वाधिक टिकट बिक्री हो । त्यस्तै, नयाँ सदस्य शुल्कबाट छ लाख, नविकरणबाट सात लाख ९५ हजार रुपैयाँ पनि संकलन भएको जानकारी दिइयो । सर्वाधिक रकम स्पोन्सरसिपबाट ५४ लाख ६२ हजार ४५० रुपैयाँ संकलन भएको अध्यक्ष गिरीले बताए । खर्चतर्फ सर्वाधिक पुरस्कारतर्फ २५ लाख ७२ हजार ३४० रुपैयाँ रहेको छ ।

उनका अनुसार प्रथम संस्करणबाट १५ लाख र दोस्रो संस्करणबाट ३६ लाख बचत भएको छ । यसपटकको करिब १९ लाख भएपछि अक्षयकोष खडा गरिने भएको छ । ‘कम्तिमा ५० लाख रुपैयाँ अक्षयकोषमा राख्छौँ’, अध्यक्ष गिरीले भने, ‘बाँकी रकम कार्य सम्पादनमा खर्चिने भएका छौँ, फेरि पहिलो संस्करणको रकम के गर्ने भन्ने निचोडमा पुगिसकेका छैनौँ ।’

उनले झापाली खेलकुदमा विकास भइरहेको दाबी गर्दै झापा ११ को जुनियर टिम पनि सशक्त भएर आएको बताए । केही सिनियर खेलाडी परिवर्तन गर्नेतर्फ इङ्गित गर्दै उनले भने, ‘झापाका केही मेस्सीहरुले काम काट्न छाडे, अब एम्बाप्पेजस्ता खेलाडी जन्माउनुछ ।’ उनले खेलाडीलाई भन्दा पनि उनीहरुको खेल कौशललाई हेरेर अनुबन्धन गरिने पनि बताए ।

झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा गोल्डकपको निरन्तरताले खेलजगतमा देशमै उचाइ थपेको बताए । उनले भने, ‘झापा गोल्डकप भव्य, सभ्यमात्र नभएर देशकै उत्कृष्ट गोल्डकप हो ।’ उनले गोल्डकपको समयतालिकामा हेरफेर गरेर अर्कै विधिबाट सञ्चालन गर्न सकिने पनि जानकारी दिए ।

गत वर्षसम्म टाइटल स्पोन्सर गरिरहेको एसियन थाइ फुड्सको रमपम यसवर्ष परिवर्तन हुनसक्ने आयोजकले संकेत गरेको छ । ‘अहिलेसम्मको गतिविधि र कार्यान्वयन पक्ष हेर्दा परिवर्तन गर्न सकिन्छ’, अध्यक्ष गुरुङले भने, ‘झापा ११ लाई प्रायोजन गर्न रुचाउने धेरै कर्पोरेट हाउस छन्, उनीहरुसँग सहकार्य हुनसक्छ ।’

गोल्डकपका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गर्दै सहयोगी दाताबाट रकम ढिलोगरी प्रदान भएकाले हिसाब सार्वजनिक गर्न चार महिना लागेको बताए । यसपटक आश्वासनका भरमा मात्र रहिरहन नसकिने निश्कर्ष निकालेर आयोजकले बचनमा गरिएको आर्थिक सहयोगलाई नसमेटिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...