इङलिस प्रिमियर लिग क्लब फुलह्यामबाट गोलनेपाललाई विशेष उपहार

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा आफ्नो विशेष पहिचान बनाएको चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले इङलिस प्रिमियर लिग क्लब फुलह्यामबाट विशेष मायाको चिनो पाएको छ ।

यसै सिजन प्रतिष्ठित प्रिमियर लिगमा बढुवा भएको फुलह्यामले आफ्नो पहिलो रोजाईको खेलाडीहरुले हस्ताक्षर गरेको जर्सी नेपाली फुटबलको विकासमा गोलनेपालले पुराएको योगदानको प्रशंसा गर्दै सम्मानस्वरुप पठाएको हो ।

बेलायत मै रहेर फुलह्याम एफसीको स्पोर्टस् थेरापिस्टको रुपमा कार्यरत नवल गुरुङले सो जर्सी एक कार्यक्रमकाबीच गोलनेपालका प्रतिनिधिद्वय निर्मल लामा र सरोज श्रेष्ठलाई हस्तान्तरण गरे ।

बिब पब्लिकेशन्सको स्वामित्वमा रहेको गोलनेपालका प्रमुख कार्यकारी बिक्रम थापाले नवल गुरुङ र फुलह्याम एफसीलाई धन्यवाद तथा आभार प्रकट गरे ।

प्रमुख कार्यकारी थापाले भने, “यो विशेष उपहार पाउँदा हामी निकै कृतज्ञ छौं । नेपाली फुटबलको उन्नति र विकासमा हामी विगत नौ बर्षदेखि क्रियाशील छांैं । हाम्रो यो यात्रा अझै लामो छ, हामी नेपाली फुटबलको विकासमा निरन्तर लागिरहने छौं ।”

पब्लिकेशन्सका प्रमुख कार्यकारी थापाले नेपालमा बाल तथा महिला फुटबलको विकासमा समेत आफूहरु सक्रिय रहेकाले सो अभियानमा सबैको सहयोगको अपेक्षा समेत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...