सिमरामा एन्फा अन्तर कप सुरु

सिमरा (खेलदैनिक) ।  बाराको सिमरामा सोमबारदेखि एन्फा अन्तर कप विद्यालय छात्र–छात्रा राष्ट्रिय फूटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा र रतनपुर माध्यमिक विद्यालय बिजयी भएका छन् ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा सिमराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्यो भने दोस्रो खेलमा रतनपुरले लोटस एकेडेमीलाई २–१ ले हरायो । सिमराको जीतमा अमन तामाङ थिङ र सुनिल गुप्ता समान १÷१ गोल गरे ।

यसैगरी रतनपुरको जीतमा सुभाष चौधरी एक्लैले दुई गोल गरे । लोटसका लागि बरदिन पण्डितले एक मात्र सान्त्वना गोल फर्काए । जीतसंगै सिमरा र रतनपुर प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन बारा जिल्ला फूटवल संघका अध्यक्ष एम समिउल्लाहले गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलवार चार खेल हुदैछन् । सिमरा रंगशालामा हुने पहिलो खेलमा ब्राईटर एकेडेमी सिमरा र मनी माध्यमिक बिद्यालय थस्कौल भिड्ने छन् ।

त्यस्तै दोस्रो खेलमा सेन्ट पिटर्स एकेडेमी सिमरा र राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवाना, तेस्रो खेलमा माउन्ट एभरेष्ट सिमरा र सफल होराईजन बडहर्वा र चौथो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जैतापुर र सिमरा पब्लीक बोर्डिङ स्कुल भिड्ने खेल प्रतियोगिता संयोजक एवम् बारा जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।

प्रतियोगितामा बाराका १६ विद्यालयको सहभागिता छ । प्रतियोगिताको बिजेता विद्यालय प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...