खेलकुद मन्त्रीसँग राष्ट्रिय फुटबल खेलाडीहरुले पाउनुपर्ने पुरस्कार रकम मागेपछि…

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले खेलकुद मन्त्री जगत विश्वकर्मासम्म आफूहरुले पाउनुपर्ने बाँकी पुरस्कार रकम माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को निम्तोमा सोमबार एक कार्यक्रमको उदघाटन गर्न पुगेका मन्त्री विश्वकर्माले एसियाड र साफका लागि अभ्यासरत राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई पनि एन्फा कम्प्लेक्स, सातदोबाटोमा भेटघाट गरेका थिए ।

सोही क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले मन्त्री विश्वकर्मासँग आफूहरुले पाउनु पर्ने बाँकी रकम भुक्तान गर्न आग्रह गरेका थिए । नेपालले सन् २०१६ मा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप जितेपछि तत्कालीन नेपाल सरकारले खेलाडीहरुलाई जनही नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

त्यसक्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो कार्यकालमा खेलाडीहरुलई दुई लाख उपलब्ध गराएका थिए । त्यसपछि उनीहरुले पाउनुपर्ने बाँकी तीन लाख अझै प्राप्त गरेका छैनन् ।

उता खेलकुद मन्त्री विश्वकर्माले आफूलाई यसबारे केही थाहा नभएको बताए । यद्यपि उनले यसबारे आफूले बुझ्ने र कुरा राख्ने बताए । सो कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य एन्फा पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...