मोरङ र बीबीसी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं (खेलदैनिक) । मोरङ एफसी र ब्रीगेड ब्वाईज क्लब (बीबीसी) समूह बी बाट जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मोरङले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो । मोरङको जितमा सुर्य ठकुरी र आशिष चौधरीले एक–एक गोल गरे । उता पराजित जावलाखेलका लागि दर्शन गुरुङ्गले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै समूह बी तर्फ कै अर्को खेलमा बीबीसीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५–१ को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । बीबीसीको जितमा रितिक खड्का एक्लैले चार गोल गरे भने जय गुरुङ्गले थप एक गोल गरे ।

उता पराजित पुलिसका लागि प्रदिप बानियाँले एक मात्र सान्त्वना गोल फर्काए । यो नतिजासँगै समूह बी बाट मोरङ र बीबीसी क्वाटरफाइनलमा प्रवेश गरेका छन् भने पुलिस र जावलाखेल समूह चरणबाटै बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारमा चित्त बुझाउने छ । प्रतियोगिताको फाइनल खेल यहि असार २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...