एपिएफ च्याम्पियन, स्याङतन सर्वोत्कृष्ट खेलाडी

सर्लाही (खेलदैनिक) । प्रथम लालबन्दी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जित्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हरायो । शनिबार सम्पन्न फाइनल भिडन्तमा एपिएफका लागि प्रविण स्याङतनले खेलको ३० औं मिनटमा शुरुवाती गोल गरे ।

पहिलो हाफसम्म गोलको अग्रता कायम गरेको एपिएफले ७५ औं मिनटमा रमेश दंगलको आत्मघाती गोल खान पुगेको थियो । यद्यपि लगतै ७८ औं मिनटमै एपिएफका लागि रुप बहादुर लामाले दोस्रो गोल गर्दै एपिएफलाई उपाधि जिताउन निर्णायक भूमिका खेले ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद ७ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिसले ३ लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफका प्रविण स्याङतन घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५० हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलरक्षक एपिएफ कै राजु नगरकोटी घोषित भए भने उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी घोषित भए । उत्कृष्ट मिडफिल्डर पुलिसका रवी पासवान हुँदा उत्कृष्ट फरवार्डको पुरस्कार भने एपिएफका नविन लामाले हात पारे । त्यस्तै उदयीमान खेलाडी आयोजक कै सन्नी चौधरी घोषित भए । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल प्राप्त गरे ।

सर्लाही जिल्ला फुटबल संघ र सर्लाही नगरपालिकाको संयुक्त रुपमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...