दोस्रो सेमिफाइनलमा आज थ्रीस्टार र एपिएफ भिड्दै

सर्लाही (खेलदैनिक) । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज दावेदार रुस्लान थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दै छन् । आज जित हात पार्ने टोलीले शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सेमिफाइनल यात्रा तय गर्ने क्रममा एपिएफले आफ्नो पहिलो खेलमा युनाइटेड सिक्किम, भारतलाई हराएको थियो भने क्वाटरफाइनलमा विजय युथ क्लब, हेटौडालाई पराजित गरेको थियो । उता सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेको थ्रीस्टारले भने कास्की–११ लाई हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा आज हुने सेमिफाइनल भिडन्त पनि रोचक हुने अनुमान छ । यद्यपि खेलमा थ्रीस्टारलाई नै बलियो प्रत्याशी मानिएको छ । केही नयाँ अनुहारका साथ उत्रिने दुवै टोलीबीचको भिडन्त प्रतिस्पर्धात्मक पनि हुने अनुमान छ ।

कति होला त आजको नतिजा ? को पुग्ला फाइनलमा ? अनुमान लगाउनुहोस् ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...