रोमाञ्चक जितका साथ थ्रीस्टार सेमिफाइनलमा

(तस्विर हिमालयटाईम्स)

सर्लाही (खेलदैनिक) । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रुस्लान थ्रीस्टार क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा कास्की–११ लाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै थ्रीस्टारले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न खेलमा यसअघि दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा दुई गोलको स्पष्ट अग्रता जोगाउन नसक्दा कास्कीले नतिजा थ्रीस्टारलाई सुम्पिन पर्यो ।

खेलको छैठौं मिनट मै कास्कीका लागि सन्त गुरुङले पहिलो गोल गरे भने खेलको १६ औं मिनटमा उत्तम गुरुङले कास्कीको अग्रता दोब्बर पारेका थिए । यद्यपि दोस्रो हाफमा उत्कृष्ट पुनार्गमन गरेको थ्रीस्टारका लागि ४७ औं मिनटमा अजयी मार्टिन्सले पहिलो गोल फर्काए भने लगतै ४८ औं मिनटमा बुद्ध चेम्जोङले थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए ।


अब थ्रीस्टारले सेमिफाइनलमा बिहीबार विभागीय टोली एपिएफको सामना गर्नेछ । मंगलबारको खेलमा थ्रीस्टारका मिचेन तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल रमपम–११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...