भोलाको निर्णायक गोलसँगै पुलिस सेमिफाइनलमा

सर्लाही (खेलदैनिक) । रोमाञ्चक जितका साथ नेपाल पुलिस क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पुलिसले गोर्खा ब्वाईज, रुपन्देहीलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने गोर्खा ब्वाईजले लिएको थियो । खेलको चौथो मिनट मै गोर्खा ब्वाईजका लागि अमर डंगोलले शुरुवाती गोल गरेका थिए । यद्यपि त्यो अग्रता गोर्खाले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।


दोस्रो हाफमा उत्कृष्ट पूनार्गमन गरेको पुलिसका लागि ५६ औं मिनटमा राम वजीले बराबरी गोल फर्काए । त्यस्तै खेलको अन्तिमतिर ८६ औं मिनटमा अनुभवी मिडफिल्डर भोला सिलवालले पुलिसका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुरक्षित गरे ।

सोमबारको खेलमा पुलिसका राम वजी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल कास्की–११ र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...