एपिएफ क्लब लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सर्लाही (खेलदैनिक) । विभागीय टोली एपिएफ क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा एपिएफले विजय युथ क्लब, हेटौडालाई २–० ले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गर्यो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न खेलको दशौं मिनटमै रुप बहादुर लामाको गोलबाट शुरुवाती अग्रता लिएको एपिएफले दोस्रो हाफमा सो अग्रतालाई दोब्बर पारेको थियो । खेलको ५७ औं मिनटमा प्रविण स्याङतनले गोल गर्दै एपिएफको जित सुनिश्चित गरेका थिए ।

आइतबारको खेलमा एपिएफका प्रविण स्याङतन म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज, रुपन्देही र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...