जावलाखेललाई हराउँदै झापा सेमिफाइनलमा

सर्लाही (खेलदैनिक) । रमपम झापा–११ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण लालबन्दी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा झापाले जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो ।

लालबन्दी–६, सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न खेलको दोस्रो मिनटमै तिर्थ बस्नेतको गोलबोट जावलाखेलले शुरुवाती अग्रता लिएको थियो । तर त्यो अग्रतालाई कायम राख्न नसक्दा जावलाखेल पराजित हुन पुग्यो । खेलको ३४ औं मिनटमा पुष्प मदेनले झापाका लागि बराबरी गोल फर्काए भने ७६ औं मिनटमा पुजन उपरकोटीले झापाका लागि निर्णायक गोल गरे ।

शनिबारको खेलमा झापाका देवेन्द्र तामाङ खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल एपिएफ क्लब र बिजय युथ क्लब, हेटौडा बीच हुने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको संंयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...