पुलिसलाई नुवाकोट गोल्डकपको उपाधि

नुवाकोट (खेलदैनिक) । विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुुिलस क्लबले जित्न सफल भएको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा पुलिसले रुस्लान थ्रीस्टार क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भयो ।

पुलिसलाई उपाधि जिताउने क्रममा दोस्रो हाफको ५२ औं मिनटमा रवि पासवानले गरेको एकमात्र गोल खेलको निर्णायक बन्न पुग्यो । विजेता बनेको पुलिसले उपाधिसहित नगद ५ लाख हात पारेको छ । पुलिसको यस सिजन यो दोस्रो उपाधि हो । यसअघि उसले हालै सम्पन्न दमक गोल्डकपको उपाधि जितेको थियो ।

उता उपविजेता बनेको थ्रीस्टारले ३ लाखमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पुलिसका निर्णायक गोलकर्ता रवि पासवान घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५० हजार हात पारे । जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...