आयोजकलाई हराउँदै थ्रीस्टार फाइनलमा

नुवाकोट (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलमा शुरुवाती अग्रता भने आयोजक नुवाकोटले लिएको थियो । खेलको ८ औं मिनटमै दिपेश श्रेष्ठले गोल गर्दै थ्रीस्टारविरुद्ध नुवाकोटलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर उत्कृष्ट पुनार्गमन गरेको थ्रीस्टारका लागि खेलको ३८ र ४३ औं मिनटमा अजयी मार्टिन्सले लगातार दुई गोल गरे ।

त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा बिजय धिमाल र निराजन खड्काले गोल गर्दै पाटने क्लबको जित सुनिश्चित गरेका थिए । बुधबारको खेलमा थ्रीस्टारका लागि दुई गोल गरेका मार्टिन्स म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल पोखरा–११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...