प्रतिस्पर्धात्मक जितका साथ सुदुरपश्चिम सेमिफाइनलमा

बाँके (खेलदैनिक) । सुदुरपश्चिम–११ नेपालगञ्जमा जारी टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खजुराको डि गाउँस्थित आदर्श आधारभूत विद्यालयको खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा सुदुरपश्चिमले सरस्वती युवा क्लब, काठमाडौंलाई सडेन डेथमा हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

सोमबारको खेलमा सरस्वती युवा क्लबका क्रिस म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन लाली रुपन्देही–११ र घरेलु टोली नेपालगञ्ज–११ बीच हुने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल संघले आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । कुल ६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि जेठ २६ गते हुने समेत आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...