शानदार जितका साथ पुलिस सेमिफाइनलमा

नुवाकोट (खेलदैनिक) । शानदार जितका साथ विभागीय टोली नेपाल पुलिस क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न मंगलबारको अन्तिम क्वाटरफाइनलमा पुलिसले रुपन्देही–११ लाई ३–० ले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो ।

खेलको ३० औं मिनटमा अभिषेक रिजालको गोलबाट शुरुवाती अग्रता लिएको पुलिसले दोस्रो हाफमा त्यसलाई तेब्बर पारेको थियो । पुलिसका लागि खेलको ५५ र ८६ औं मिनटमा सुमन लामाले थप दुई गोल गर्दै विभागीय टोलीको जित सुनिश्चित गरे ।

मंगलबारको खेलमा पुलिसका सुमन लामा म्यान अफ द म्याच घोषित भए । मंगलबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । पुलिसले अब दोस्रो सेमिफाइनलतर्फ बिहीबार पोखरा–११ सँग खेल्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक नुवाकोट–११ र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...