अनन्तको दुई गोलसँगै थ्रीस्टार सेमिफाइनलमा

नुवाकोट (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न सोमबारको खेलमा थ्रीस्टारले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–२ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो ।

थ्रीस्टारको जितमा अनन्त तामाङले दुई गोल गरे भने अजयी मार्टिन्सले एक गोल गरे । उता पराजित मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि सौजन राई र म्याक्सवेलले एक–एक गोल गरे । सोमबारको खेलमा थ्रीस्टारका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल रुपन्देही–११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...