नुवाकोट गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । बिहीबारदेखि शुरु बिशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक नुवाकोट–११ ले विजयी शुरुवात गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न उदघाटन खेलमा नुवाकोटले चितवन–११ लाई शुन्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

घरेलु टोलीका लागि एक मात्र निर्णायक गोल खेलको ३३ औं मिनटमा उचित लामाले गरे । बिहीबारको खेलको म्यान अफ द म्याच नुवाकोटका अमिर श्रेष्ठ घोषित भए । यो जितसँगै नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा नुवाकोटले फ्रेण्ड्स क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल काठमाडौं–११ र पोखरा–११ बीच हुने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...