भैरव एफसी उपाधि नजिक

सरावल (खेलदैनिक) । भैरव एफसी नवलपरासीमा जारी प्रथम सरावल गाउँपालिका कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा भैरवले फर्साटिकर एफसीलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

सरावल–१, नवलपरासीस्थित बसही खेलमैदानमा सम्पन्न खेलमा भैरवका लागि सबी गुरुङ, आशिष शाक्य र अनुप गुरुङले एक–एक गोल गरे । उता पराजित फर्साटिकरका लागि सुरज हमालले एक मात्र गोल गरेका थिए । आइतबारको खेलमा भैरवका सबी गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाइनल खेल देशभक्त युवा क्लब, नवलपरासी र एभरेष्ट एफसी, चितवनबीच हुने आयोजकले जनाएको छ । नवलपरासी, रुपन्देही र चितवनका गरी कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ १६ गते हुनेछ ।

युवा तथा खेलकुद सञ्जाल, सरावली–१, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५५,५५५ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...