फराकिलो जितका साथ देशभक्त अन्तिम चारमा

सरावल (खेलदैनिक) । दावेदार मानिएको देशभक्त युवा क्लब नवलपरासीमा जारी प्रथम सरावल गाउँपालिका कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा देशभक्तले पञ्चनगर युथ सर्कललाई शून्यकाविरुद्ध ७ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

सरावल–१, नवलपरासीस्थित बसही खेलमैदानमा सम्पन्न खेलमा देशभक्तले एकतर्फी नतिजा निकालेको थियो । देशभक्तका लागि चुडा चौधरी र सुमन अर्यालले दुई–दुई गोल गरे । त्यस्तै बिजयी टोलीका लागि नितिन थापा, नविन महतो र कृपा चौधरीले एक–एक गोल गरे । खेलमा देशभक्तका सुर्य थापा म्यान अफ द म्याच घोषित भए ।

शनिबारको खेलसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत आइतबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर एफसी र भैरव एफसीबीच हुने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा भने सोमबार देशभक्तले एभरेष्ट एफसी, चितवनको सामना गर्नेछ । नवलपरासी, रुपन्देही र चितवनका गरी कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ १६ गते हुनेछ ।

युवा तथा खेलकुद सञ्जाल, सरावली–१, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५५,५५५ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...