संघर्षपूर्ण जितका साथ मनाङ फाइनलमा

गाईघाट (खेलदैनिक) । प्रतियोगिताको बलियो प्रत्याशी मानिएको मनाङ मस्र्याङ्दी क्लब पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङले फाइनल प्रवेश गर्ने क्रममा सुनसरी–११ विरुद्ध ३–२ को कठिन जित पारेको हो । गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न खेलको १० औं मिनट मै रमेश राजवंशीको आत्मघाती गोलबाट मनाङले शुरुवाती अग्रता लिएको थियो ।


त्यस्तै २३ औं मिनटमा भिक्टरले मनाङका लागि दोस्रो गोल गरे । यद्यपि सुनसरीका निशान लिम्बुले २८ औं मिनटमा पहिलो गोल फर्काए भने ६४ औं मिनटमा सुनसरीका लागि सौजन लिम्बुले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर ७५ औं मिनटमा मनाङका लागि बिमल रानाले तेस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । बिहीबारको खेलमा मनाङका डोना थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत अब मनाङले शनिबार उपाधिका लागि चिरप्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारको सामना गर्नेछ ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...