नारायणघाट एफसी उपाधि नजिक

भरतपुर (खेलदैनिक) । पेनाल्टी शुटआउटमा एभरेष्ट एफसीलाई हराउँदै नारायणघाट एफसी जारी भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ स्थित सिद्धार्थ मा.वि. को खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा नारायणघाटले एभरेष्टलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यसअघि नियमित समयको खेल दुवै टोलीले रोमाञ्चक २–२ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ नारायणघाटका लागि दुवै गोल सुनिल श्रेष्ठले गरेका थिए भने एभरेष्टका  लागि विक्की राई तथा विदेशी खेलाडी कोनले एक गोल गरेका थिए । बिहीबारको खेलमा नारायणघाटका लागि उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक भरतपुर–२४ र भरतपुर एफसीबीच हुने आयोजक युवा तथा खेलकुद विकास समितिका अध्यक्ष बिदुर थापा मगरले जानकारी दिए । भरतपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्नेछ ।

कुल १६ टोलीहरुको सहभागिता रहेको फाइनल खेल यहि जेठ ६ गते हुने समेत आयोजक समितिका अध्यक्ष थापा मगरले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...