पुलिसमाथि सनसनीपूर्ण जित हात पार्दै सुनसरी सेमिफाइनलमा

गाईघाट (खेलदैनिक) । रोमाञ्चक जितका साथ सुनसरी–११ पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सुनसरीले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न खेलमा नियमित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ शुरुवाती अग्रता लिएर पनि पुलिस तीन गोल खान पुगेको थियो । यद्यपि उत्कृष्ट पूनार्गमन गरेको पुलिसले अन्तिम दश मिनटमा दुई गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएको थियो ।


खेलको सातौं मिनट मै राम वजीको गोलबाट पुलिसले शुरुवाती अग्रता लिएको थियो । तर खेलको २३ औं मिनटमा सौजन लिम्बुले सुनसरीका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफ कै ४३ औं मिनटमा तिर्थ बस्नेतले सुनसरीका लागि दोस्रो गोल फर्काए भने ६५ औं मिनटमा रोमन लिम्बुले तेस्रो गोल गर्दै सुनसरीलाई सनसनीपूर्ण अग्रता दिलाएका थिए ।

यद्यपि खेलको अन्तिम दश मिनटमा उत्कृष्ट पूनार्गमन गरेको पुलिसका लागि ८० औं मिनटमा अभिषेक रिजालले दोस्रो गोल गरे भने इन्जुरी समयतर्फ (९०+१ मिनटमा) बिक्रम धिमालले पुलिसका लागि तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

सेमिफाइनलमा अब सुनसरीले बिहीबार मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र रमपम झापा–११ बीच हुने आयोजले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...