शानदार जितका साथ थ्रीस्टार सेमिफाइनलमा

गाईघाट (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले मोरङ–११ विरुद्ध ४–१ को शानदार जित हात पार्यो ।

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न खेलमा थ्रीस्टारका लागि अजयी मार्टिन्सले दुई गोल गरे । मार्टिन्सले खेलको ३३ र ५८ औं मिनटमा गरी दुई गोल गरे । मार्टिन्स खेलको म्यान अफ द म्याच समेत घोषित भए । यद्यपि खेलको ६७ औं मिनटमा मोरङका लागि अम्बालाले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो ।

तर अन्तिम दश मिनटमा थ्रीस्टारले थप दुई गोल गर्दै शानदार जित सुनिश्चित गर्यो । खेलको ८२ औं मिनटमा अनन्त तामाङले थ्रीस्टारका लागि तेस्रो गोल गरे भने ८९ औं मिनटमा रुपेश केसीले गोल गर्दै पाटने क्लबको जित सुनिश्चित गरे ।

सेमिफाइनलमा अब थ्रीस्टारले बुधबार झापा–११ को सामना गर्नेछ । प्रतियोगिता अन्तरगत मंगलबारको खेल नेपाल पुलिस क्लब र सुनसरी–११ बीच हुने आयोजकले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...