दमक (खेलदैनिक) । दावेदार मानिएको बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङले आर्मीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।
यसअघि नियमित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अन्ततः आर्मी पराजित हुन पुग्यो । खेलको ३० औं मिनटमा टंक बस्नेतको हेड गोलद्वारा आर्मीले शुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफको ४७ औं मिनटमा मनाङका लागि दिपक राईले बराबरी गोल फर्काएका थिए ।
Damak Gold Cup 2075: MMC Vs Nepal Army Club Spot-Kick Battle! Watch the VIDEO HERE!!!👇👇👇 https://t.co/WPYyzIJOVm
— GoalNepal.com (@Goal_Nepal) May 9, 2018
बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका गोलरक्षक विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । अब मनाङले उपाधिका लागि शुक्रबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ ।