सुनौलोलाई हराउँदै झरना सेमिफाइनलमा

सैनामैना (खेलदैनिक) । टाईब्रेकरमा दावेदार सुनौलो संगम युवा क्लबलाई हराउँदै झरना स्पोर्टस् क्लब प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा झरनाले सुनौलो संगमलाई टाईब्रेकरमा ३–२ ले निराश तुल्यायो । यसअघि नियमित समयको कडा प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका झरना स्पोर्टस् क्लबका गोलरक्षक मनिष गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइन खेल भैरव एफसी, नवलपरासी र डिवाईसी, कोटिमाईबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ्ग युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार हात पार्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले नगद २०–२० हात पार्ने आयोजक क्लबका अध्यक्ष रानाले बताए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...