लिगको मिति दश भित्र घोषणा हुँदै

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा बिगत केही बर्ष यतादेखि सुचारु हुन नसकेको बहुप्रतिक्षित नेपाली राष्ट्रिय फुटबल लिगको मिति दश दिनभित्र घोषणा गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले लिगको मिति घोषणा गर्ने निर्णय गरेको हो ।


त्यसका लागि लिग कमिटीको पनि गठन गरिएको छ । जसको संयोजकमा पूर्व राष्ट्रिय फुटबलर तथा प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञान राज शर्मा रहेका छन् । एन्फाको केन्द्रिय कार्यसमितिले लिग कमिटीलाई लिग आयोजनाका लागि आवश्यक तयारी गर्ने सम्पूर्ण जिम्मेवारी समेत सुम्पिएको छ ।

सोमबार बसेको केन्द्रिय समितिको पहिलो बैठकले एन्फाका पूर्व सिइओ इन्द्रमान तुलाधरलाई महासचिवमा मनोनित गरेको छ । त्यस्तै संघको मानार्थ अध्यक्षमा टासी घले, उपाध्यक्षमा किशोर राई मनोनित भएका छन् । त्यस्तै आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजकमा नविन पाण्डे र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।


त्यसैगरी मोफसलका फुटबल प्रतियोगिताहरुको स्तर निर्धारण र नियमन गर्न समिति बन्ने भएको छ । साथै जिल्लाहरुमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति बनाउने निर्णय पनि भएको छ । कार्यकारिणी बैठकले एन्फाका एकेडेमीहरुलाई तत्काल सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।

त्यसैगरी सोमबार बसेको बैठकले ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता आगामी जेठ २९ गतेबाट आयोजना गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...