दमक (खेलदैनिक) । शानदार जित हात पार्दै दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा मनाङले सरस्वती युथ क्लबविरुद्ध ५–० को शानदार जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा मनाङले सबै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । मनाङको जितमा सुजल श्रेष्ठले खेलको ४९ औं र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
BREAKING: Manang Marshyangdi Club Hammers Saraswati Youth Club 5-0 To Advance To Semifinals. (File Pic) https://t.co/eFrSoU4tNQ
— GoalNepal.com (@Goal_Nepal) May 7, 2018
त्यस्तै बिमल बस्नेत, तिर्थ बस्नेत र सुवास गुरुङले मनाङका लागि खेलको क्रमश ६१ औं, ८४ औं र ८६ औं मिनटमा एक–एक गोल गरेका थिए । मनाङले अब सेमिफाइनलमा बुधबार अर्को दावेदार टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल बैशाख २८ गते शुक्रबार हुनेछ ।