नवयुगको ह्याट्रिकसहित आर्मी सेमिफाइनलमा

दमक (खेलदैनिक) । दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा आर्मीले आयोजक दमक–११ लाई शून्यकाविरुद्ध ६ गोलले हरायो ।

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले ह्याट्रिक सहित चार गोल गरे । नवयुगले खेलको छैठौं, २३ औं, ६९ औं र ८६ औं मिनटमा गोल गर्दै चार गोलका साथ ह्याट्रिक समेत पूरा गरे । त्यस्तै थप दुई गोल खेलको २१ औं मिनटमा भरत खवास र ५२ औं मिनटमा बिमल पाण्डेले गरे ।


शनिबार ह्याट्रिकसहित चार गोल गरेका आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । आर्मीले अब सोमबार हुने मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । फाइनल बैशाख २८ गते हुनेछ ।

दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...