दमक (खेलदैनिक) । हरि कार्कीले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि एपिएफ क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा एपिएफले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–१ ले हरायो ।
शुक्रबार दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा हरि कार्कीले खेलको ११ औं मिनटमा गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । तर लगतै १९ औं मिनटमा मदन भण्डारी स्पोर्टस एकेडेमीका म्याक्सवेलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

म्यान अफ द म्याच पुरस्कार ग्रहण गरेपछि एपिएफका हरि कार्की ।
यद्यपि पहिलो हाफ कै २७ औं मिनटमा पूनः हरि कार्कीले गोल गर्दै एपिएफलाई दोस्रोपटक अग्रता दिलाए भने खेलको अन्तिमतिर इन्जुरी समयमा हरि ले नै एपिएफका लागि तेस्रो गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गर्न सफल भए । खेलको २० औं मिनटमा एपिएफका आदित्य चौधरीले रातो कार्ड खाँदै मैदान छाडेपछि विभागीय टोली पहिलो हाफबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो ।
BREAKING: 10-Man Nepal APF Club Into Semis; Defeats Madan Bhandari Sports Academy 3-1 https://t.co/dDbJ8zztE6
— GoalNepal.com (@Goal_Nepal) May 4, 2018
शुक्रबारको खेलमा ह्याट्रिक गरेका एपिएफका हरि कार्की म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक दमक–११ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार प्राप्त गर्नेछ ।