अदालतले अन्तरिम आदेश नदिएपछि एन्फाको केन्द्रिय निर्वाचन बैशाख २२ मै पक्का

काठमाडौं (खेलदैनिक) । अन्ततः बहुप्रतिक्षित अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन यहि बैशाख २२ गते शनिबार नै हुने निश्चित भएको छ । एन्फाको केन्द्रिय चुनाव विधानसम्मत नभएको भन्दै विभिन्न जिल्ला फुटबल संघका ८ पदाधिकारीहरुले निर्वाचन रोक्न मुद्दा दायर गरेका थिए ।

यद्यपि काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि एन्फाको केन्द्रिय चुनावको बाटो खुलेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको हो । अदालतले बिपक्षीलाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ ।

पटक–पटक रोकिएको केन्द्रिय चुनाव अब २२ मै हुने भएपछि नेपाली फुटबलले नयाँ बाटो अँगाल्ने धेरै फुटबलप्रेमीहरुले विश्वास लिएका छन् । यसपटक एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका वर्तमान उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...