माइ भ्याली गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बने मनाङका कप्तान बिराज

इलाम (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबका कप्तान बिराज महर्जन अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट घोषित भएका बिराजले पुरस्कार स्वरुप एक थान स्कुटर प्राप्त गरेका छन् ।

त्यस्तै सोमबार सम्पन्न फाइनल खेलको म्यान अफ द म्याच मनाङ कै हेमन गुरुङ घोषित भएका छन् । प्रतियोगिताको फाइनलमा मनाङले रुस्लान थ्रीस्टार क्लबसँग १–० को हार बेहोर्दै उपविजेता बनेको थियो । प्रतियोगिताको विजेता थ्रीस्टारले उपाधिसहित ६,६६,६६६ रुपैया हात पारेको थियो भने उपविजेता बनेको मनाङले ३ लाखमा चित्त बुझाएको थियो ।


त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने घोषित भए भने थ्रीस्टार कै पिटर सेगुन उत्कृष्ट डिफेन्डर घोषित भए । व्यक्तिगत विधातर्फ पनि थ्रीस्टार कै दबदबा रहेको प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल घोषित भए भने उत्कृष्ट फरवार्ड पनि थ्रीस्टार कै मार्टिन घोषित भए ।

उत्कृष्ट प्रशिक्षक पनि थ्रीस्टारकै मेघराज केसी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेको सबैले जनही १५–१५ हजार हात पारे । त्यसैगरी आयोजक माइ भ्याली एफसीका दर्शन गुरुङ प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३५ हजार प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताभरि समान २–२ गोल गरेका मनिष थापा, रेजिन सुब्बा, युवराज खड्का र नविन लामाले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।


प्रतिक्रिया दिनुहोस

Loading...