थ्रीस्टार र मनाङ आज उपाधिका लागि भिड्दै

इलाम (खेलदैनिक) । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ आज दुई चिरप्रतिद्वन्द्वी रुस्लान थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब उपाधिका लागि भिड्दै छन् ।

गत बर्ष शानदार लयमा रहेको थ्रीस्टारले पाँच उपाधि जितेको थियो । गत महिना मात्र तीन ठूला उपाधि जितेकोले थ्रीस्टार आत्मविश्वासी छ । यद्यपि उसले मनाङलाई हलुका रुपमा नलिने बताईसकेको छ । प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले दुई विभागीय नेपाल पुलिस क्लब र एपिएफ क्लबलाई हराएको थियो ।


उता यस सिजन लयमा देखिएको मनाङले भने फाइनल प्रवेश गर्ने क्रममा आयोजक माइ भ्याली एफसी र दावेदार त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले आज उपाधि लक्ष्यका साथ भिड्ने बताईसकेका छन् ।

त्यसैले पनि आज इलामस्थित टुडिंखेल मैदानमा दिनको ३ बजे हुने फाइनल भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...