थ्रीस्टार फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

इलाम (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा थ्रीस्टारले विभागीय टोली एपिएफ क्लबलाई २–० ले हराउँदै बर्षको पहिलो उपाधि नजिक पुगेको हो ।

इलामस्थित ठूलो टुँडीखेल मैदानमा भएको खेलमा थ्रीस्टारका लागि स्टार फरवार्ड बिमल घर्ती मगरको योगदान महत्वपूर्ण रह्यो । थ्रीस्टारको जितमा बिमलले पहिलो हाफको इन्जुरी समयमा (४५+१ मिनटमा) गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिमतिर ९० औं मिनटमा बिमल कै एकल प्रयास र पासमा मार्टिन्सले थ्रीस्टारका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

थ्रीस्टारले अब उपाधिका लागि सोमबार अर्को दावेदार टोली मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । मनाङले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...