युएईमा सर्वाधिक पुरस्कार राशीको एकदिने फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । संयुक्त अरब इमिरेट्स (युएई) को अल ऐनमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका नेपाली समुदायहरुको हिमालयन एफसीले एकदिने फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आउँदो १० मईका दिन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ५ हजार दिराम हात पार्नेछ । यो पुरस्कार रकम युएईमा नेपाली समुदायले आयोजना गरेको एक दिने फुटबल प्रतियोगितामा अहिलेसम्म कै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताका खेल संयोजक उज्ज्वल दाहालले बताए ।

त्यस्तै उपविजेताले ३ हजार दिराम प्राप्त गर्नेछ । प्रतियोगितामा व्यक्तिगत विधातर्फका विजेता खेलाडीहरुलाई पनि पुरस्कार को व्यवस्था गरिएको खेल संयोजक दाहालले बताए ।

स्टेडियम अफ युएई युनिभर्सिटीमा हुने प्रतियोगितामा नेपाली खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रवेश शुल्क १५ सय दिराम तोकिएको छ । त्यसैगरी प्रत्येक म्याच ४० मिनटको खेलाईने समेत आयोजकले जनाएको छ । खेलहरु बेलुकाको ८ बजेदेखि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...