दिप युनाइटेडलाई सेभेन ए साइड फुटबलको उपाधी

पोखरा (खेलदैनिक) । दिप युनाइटेड क्लवले पोखराको अम्मरसिंह खेल मैदानमा सम्पन्न प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा बि थर्टिन बाँझापाटनलाई १–० गोलले हराउँदै दिप युनाइटेडले उपाधी जित्न सफल भएको हो । दिपको जितमा एक मात्र निर्णायक गोल रुपेश क्षेत्रीले गरे । उनी म्यान अफ द फाइनल समेत घोषित भए ।

बिजेता बनेको दिपले उपाधिसहित नगद २ लाख २५ हजार हात पारेको छ भने उपविजेता बनेको बी थर्टिनले नगद १ लाख १ हजार १ सय ११ रुपैयामा चित्त बुझाएको छ । प्रतियोगितामा दिप युनाइटेडका बुद्ध लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै दिपकै अजय तामाङ्ग उत्कृष्ट रक्षक घोषित भए भने दिपकै विजयसिंह महर्जन उत्कृष्ट गोलकिपर बने । त्यसैगरी दिपकै स्टेफन सर्वाधिक गोलकर्ता तथा बि थर्टिनका उत्तम गुरुङ्ग उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही नगद पाँच–पाँच हजार प्राप्त गरे ।

साँसद राजिव पहारी, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, जंगबहादुर गुरुङ्ग, पोलेमनपा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा लगायतले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरे । क्लवका अध्यक्ष रोशन गुरुङ्गको अध्यक्षतामा सम्पन्न समारोह क्लवका सदस्य सुवास केसीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...