प्रभावशाली जितका साथ आर्मी अन्तिम चारमा

इलाम (खेलदैनिक) । बाई पाएर सिधै क्वाटरफाइनलमा भिडेको त्रिभुवन आर्मी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले पाहुना टोली युनाइटेड सिक्किमलाई ३–१ ले हरायो ।

ठूलो टुँडीखेल मैदानमा भएको खेलमा आर्मीका लागि खेलको १५ औं मिनटमै दिनेश हेन्जनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि ७१ औं मिनटमा सिक्किमका इन्द्रजित क्षेत्रीले बराबरी गोल फर्काएका थिए । तर सिक्किमको त्यो खुशी धेरैबेर रहेन ।

खेलको ७६ औं मिनटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई दोस्रोपटक अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा आर्मीका कप्तान भरत खवासले तेस्रो गोल गर्दै विभागीय टोलीको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।

बुधबारको खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो बैशाख १७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...