कोलकातालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

इलाम (खेलदैनिक) । प्रभावशाली जितका साथ विभागीय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा पुलिसले दुर्गापुर स्टिल, कोलकाता (भारत) को चुनौति ३–१ ले समाप्त पार्दै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

ठूलो टुँडीखेल मैदानमा आइतबार भएको खेलमा पुलिसका लागि ३६ औं मिनटमा रेजिन सुब्बाले शुरुवाती गोल गरेका थिए । यद्यपि पहिलो हाफको इन्जुरी समयमै दुर्गापुरका लागि सगौनले बराबरी गोल फर्काएका थिए । पहिलो हाफसम्म १–१ गोलको बराबरी खेले तापनि दोस्रो हाफमा भने पुलिसले थप दुई गोल गर्न सफल भएको थियो ।

पुलिसले दोस्रो हाफको अन्तिम समयतिर दुई मिनटको अन्तरालमा दुई गोल गर्न सफल भएको थियो । खेलको ९०+१ औं मिनटमा दुर्गापुरका खेलाडीले पुलिसका निर कुमार राईलाई बक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै सुमन लामाले विभागीय टोलीका लागि दोस्रो गोल गरेका थिए । दोस्रो गोल गरेको एक मिनट बित्न नपाउँदै पुलिसका लागि रवि पासवानले ९०+३ औं मिनटमा तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरेका थिए ।

आइतबारको खेलमा पुलिसका लागि उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा म्यान अफ द म्याच घोषित भए । पुलिसले अब क्वाटरफाइनलमा बैशाख १३ गते बिहीबार रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत सोमबारको पहिलो क्वाटरफाइनल खेल आयोजक माइभ्याली एफसी र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा शुरु प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो बैशाख १७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...