एन्फाको केन्द्रिय चुनाव गर्न खेलाडीहरुको माग र दबाब

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जतिसक्दो छिटो एन्फाको केन्द्रिय निर्वाचनको मिति तोक्न माग गरेका छन् । नेपाल फुटबल खेलाडी संघका उपाध्यक्ष समेत रहेका महर्जनले देशमा लिग नभएकाले खेलाडीहरु पनि बेरोजगार रहेको बताएका छन् ।

महर्जन भन्छन् “देशमा बिगत तीन बर्षदेखि लिग हुन सकेको छैन । हामी एउटा निश्चित लिग होस् भन्ने चाहन्छौं । यहाँ पाँच सय भन्दा बढी खेलाडीहरु बेरोजगार छन् । हामीले पाउनु पर्ने पारिश्रमिक पनि न्युन छ । एन्फाले जति सक्दो छिटो एन्फाको निर्वाचन मिति घोषणा गर्नुपर्छ । अब आउने नयाँ नेतृत्वले लिग गराउने योजना बनाउनेछन् भन्ने विश्वासका साथ हामी यो चुनाव पूर्ण रुपमा यताशिघ्र सम्पन्न होस् भन्ने चाहन्छौं ।”

त्यस्तै पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले पनि एन्फाको केन्द्रिय निर्वाचन मिति यथाशक्य छिटो घोषणा गर्न दबाब दिएका छन् । फिफा–एएफसीले निर्वाचन नगराएकै कारण प्रतिबन्ध लगाउन सक्ने बताउँदै खड्काले चेतावनी दिंदै भने “एन्फाले छिटो भन्दा छिटो काम अगाडी बढाउनुपर्छ । अन्यथा हामी थप कडा प्रतिवादमा उत्रिने छौं ।”

चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमका अनुसार एन्फाले केन्द्रिय निर्वाचनको मिति तोक्नु अघि सम्पूर्ण अदालती प्रक्रिया पालना र पूरा गर्ने बताएको छ । एन्फाविरुद्ध मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले ललितपुर उच्च अदालतमा मुद्दा दायर गरेपछि गत चैत्र १४ गते हुने भनिएको एन्फाको केन्द्रिय निर्वाचन स्थगित गरिएको थियो ।

हाल दुवै फुटबल संघले आ–आफ्नो जिल्लाको अधिवेशन सुसम्पन्न गरि सकेतापनि उनीहरुले अदालतबाट मुद्दा फिर्ता भने लिएका छैनन् । सोही कारण एन्फाले केन्द्रिय निर्वाचनको मिति तोक्न सकिरहेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...