बिमलको दुई गोलसँगै आर्मीलाई हराउँदै थ्रीस्टारलाई बिराट गोल्डकपको उपाधि

बिराटनगर (खेलदैनिक) । स्टार फरवार्ड बिमल घर्ती मगरले दुई गोल गरेपछि रुस्लान थ्रीस्टार क्लबले प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न फाइनलमा थ्रीस्टारले विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–० ले हराउँदै सिजनको पाँचौं उपाधि जित्न सफल भयो ।

सोमबार भएको फाइनल भिडन्तमा थ्रीस्टारले तीनै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । खेलको ५६ औं मिनटमा अनन्त तामाङले हेडद्वारा गोल गर्दै थ्रीस्टारलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै थ्रीस्टारका अफ्रिकी खेलाडी मार्टिन्सलाई आर्मीका खेलाडीले डिबक्स भित्र फाउल गरेपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई खेलको ७६ औं मिनटमा बिमल घर्ती मगरले कुनै गल्ती नगरी गोलपोष्टको जाली चुमाएका थिए । त्यसैगरी खेलको अन्त्यतिर ८९ औं मिनटमा बिमलले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरेका थिए ।

यस महिना लगातार तीन उपाधि जितेर उपाधिमाथि ह्याट्रिक गरेको थ्रीस्टारले उपाधिसहित नगद १२ लाख ७१ हजार हात पारेको छ । त्यस्तै उपविजेत ाबनेको आर्मीले ५ लाख ५१ हजारमा चित्त बुझाएको छ । चैत्र १७ गतेदेखि शुरु प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल दश टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...