मोरङमाथि रोमाञ्चक जित हात पार्दै झापा विराट गोल्डकपको सेमिफाइनलमा

बिराटनगर (खेलदैनिक) । खेलमा पटक–पटक पछि परको स्थिति उल्टाउँदै रमपम झापा–११ प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न खेलमा झापाले आयोजक रिजाल्को मोरङ–११ लाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

यसअघि नियमित समयतर्फ तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै झापाले घरेलु टोलीसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो । मोरङका लागि खेलको २१ औं मिनटमा दिपक राईको पहिलो गोल गरेका थिए भने २८ औं मिनटमा निरज बस्नेतले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

यद्यपि दोस्रो गोल खाएको पाँच मिनट बित्न नपाउँदै ३१ औं मिनटमा झापाका लागि कर्ण लिम्बुले पहिलो गोल फर्काए । पहिलो हाफसम्म २–१ ले पछि परेको झापाले दोस्रो हाफमा आत्मघाती गोल खान पुगेको थियो । खेलको ५१ औं मिनटमा दिलेन लोक्तमले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि मोरङले ३–१ को अग्रता लिएको थियो ।

तर झापाका लागि खेलको ५८ औं र ८७ औं मिनटमा माइकल चुक्वोबुन्ना एक्लैले दुई गोल गर्दै खेललाई रोमाञ्चक ३–३ को बराबरीमा ल्याएका थिए । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा झापाले ५–३ ले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिता अन्तरगत मंगलबारको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सिएमजी संकटा क्लबीच हुने आयोजकले जनाएको छ । नेपाल, भारत र भुटानका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहत १२ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राँप्त गर्नेछ । प्रतियोगिताको सबै खेलहरु बेलुकाको समयमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि चैत्र २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...