थ्रीस्टार र मनाङबीचको मेगा फाइनल भिडन्त आज

बुटवल (खेलदैनिक) । बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज दुई चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्दैछन् ।

बुटवल रामनगरस्थित मान विज्ञान मा.वि. को खेलमैदानमा आज हुने फाइनल भिडन्त रोमाञ्चक र कडा प्रतिस्पर्धाका बीच हुने धेरैको अनुमान छ । दुवै टोलीमा अधिकांश राष्ट्रिय तथा स्टार खेलाडी भएकाले पनि आजको खेल प्रतिस्पर्धात्मक हुने धेरैको विश्वास छ ।

थ्रीस्टारले यसै महिनाको पहिलो साता बुटवलमै सम्पन्न प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकपको उपाधि पनि जितेकोले रुपन्देहीमा लगातार दोस्रो उपाधि उचाल्ने लक्ष्य र आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ । फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराएको थियो ।

त्यस्तै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा थ्रीस्टारसँग बेहोरेको हारको बदला समेत लिने योजनाका साथ आज फाइनलमा भिड्दैछ । मनाङले फाइनल प्रवेश गर्ने क्रममा साविक विजेता सुनौलो संगम युवा क्लबलाई ५–० ले हराएकोले मनाङ पनि आजको आत्मविश्वासका साथ फाइनल जित्ने लक्ष्यका सहित उत्रिनेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १५ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...