संघर्षपूर्ण जितका साथ संकटा क्वाटरफाइनलमा

बिराटनगर (खेलदैनिक) । मोफसल मै पहिलोपटक रात्रीकालिन रुपमा शुरु भएको प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सिएमजी संकटा क्लबले जित हात पारेको छ । आइतबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न खेलमा संकटाले मोहम्मदन स्र्पोटिङ्ग क्लब, भारतलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

आइतबारको खेलमा गोलको खाता खोल्न संकटालाई थपिएको अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनट अतिरिक्त समय खेलाइएको थियो । सोही थपिएको अतिरिक्त समयको १०३ औं मिनटमा दिरेल त्रारेले एक मात्र निर्णायक गोल गर्दै संकटालाई महत्वपूर्ण जित दिलाए ।

प्रतियोगिता अन्तरगत सोमबारको क्वाटरफाइनल खेल आयोजक रिजाल्को मोरङ्ग–११ र रमपम झापा–११ बीच हुने आयोजकले जनाएको छ । नेपाल, भारत र भुटानका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहत १२ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राँप्त गर्नेछ । प्रतियोगिताको सबै खेलहरु बेलुकाको समयमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि चैत्र २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...