सुजलको ह्याट्रिकसहित मनाङ फाइनलमा

बुटवल (खेलदैनिक) । सुजल श्रेष्ठले ह्याट्रिक गरेपछि मनाङ मस्र्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा मनाङले साविक विजेता सुनौलो संगम युवा क्लबलाई ५–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने थप दुई गोल अर्का स्टार मिडफिल्डर अन्जन बिष्टले गरे । खेलमा ह्याट्रिक गरेका मनाङका सुजल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...