अन्जनको दुई गोलसँगै मनाङ सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङको जितमा दुवै गोल स्टार मिडफिल्डर अन्जन बिष्टले गरे । उता पराजित पुलिसका लागि एक मात्र गोल तेज तमाङले गरे । अब मनाङले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सुनौलो संगम युवा क्लबसँग शनिबार खेल्नेछ ।

प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच हुने आयोजकले जनाएको छ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...