सनसनीपूर्ण जितका साथ थ्रीस्टार अन्तिम चारमा

रुस्लान थ्रीस्टार क्लब ।

बुटवल (खेलदैनिक) । दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले मलेसियन क्लब हिमालयन एफसीलाई रोमाञ्चक २–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

हिमालयन एफसी, मलेसिया ।

बुधबारको खेलमा तीनै गोल अन्तिम दश मिनटभित्र भएको थियो । खेलको ८४ औं मिनटमा तिर्थ बस्नेतको गोलबाट हिमालयनले शुरुवाती अग्रता लिएको थियो । तर पाहुना टोलीको त्यो जितको खुशी धेरैबेर टिक्न सकेन । उता खेलको ८६ औं मिनटमै थ्रीस्टारका लावलले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यस्तै नियमित समयको खेल सकिनै लागेको बेला इन्जुरी समयमा (९०+२ मिनटमा) थ्रीस्टारका लागि अजयी मार्टिन्सले निर्णायक गोल गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए ।

म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै थ्रीस्टारका मार्टिन्स ।

निर्णायक गोल गरेका मार्टिन्स खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...