आर्मीलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा सोमबार सम्पन्न खेलमा आयोजकले दावेदार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा गोलको अग्रता भने आर्मीले लिएको थियो । खेलको १४ औं मिनटमै विवेक बस्नेतको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन ।

उता आयोजकका लागि अफ्रिकी खेलाडी म्याक्सले खेलको ६२ औं र ६७ औं मिनटमा गरी दुई गोल गरे भने थप एक गोल सेडरिक आवाले ७५ औं मिनटमा गर्दै आयोजक टोलीको जित सुनिश्चित गरे । खेलमा दुई गोल गरेका आयोजक टोलीका म्याक्स म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र साविक विजेता सुनौलो संगम युवा क्लबबीच हुने आयोजकले जनाएको छ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...