एन्फाको केन्द्रिय चुनाव स्थगित

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को यहि चैत्र १४ गते हुने भनिएको केन्द्रिय अधिवेशन तथा चुनाव तत्कालका लागि स्थगित गरिएको छ । एन्फाले आइतबार एक विज्ञप्ती जारी गर्दै एन्फाको केन्द्रिय अध्यक्ष पदको चुनाव पाटन उच्च अदालतले रोक्न आन्तरिम आदेश जारी गरेपछि अर्को सूचना नआउँदा सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले आफूहरुलाई एन्फाको केन्द्रिय चुनावमा सहभागी नगराएको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि अदालतले दुवै पक्षलाई १५ दिन भित्र अदालतमा पेश हुन आदेश जारी गर्दै तत्कालका लागि एन्फाको केन्द्रिय चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

एन्फाको केन्द्रिय अध्यक्ष पदका लागि यसपटक पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान उपाध्यक्ष मणि कुँवर चुनावमा भिड्दै छन् । उता अदालतले चुनाव रोक्न आदेश जारी गरे तापनि एसियाली फुटबल महासंघ (एएफसी( र फिफाले भने निर्धारित समयमै चुनाव सम्पन्न गर्न निर्देशन दिएको थियो । एन्फाको चुनाव स्थगित भए लगतै अब एएफसी र फिफाले कस्तो निर्णय र कदम चाल्ने हो त्यो भने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...