राष्ट्रिय फुटबल टोलीसँगै आठ पदाधिकारीको जम्बो टोलीलाई पनि कतार पठाउन जरुरी थियो त ?

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप २०१९ को छनौट खेलतर्फ यमनविरुद्ध खेल्न दोहा जाने लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको शुक्रबार एक कार्यक्रमकाबीच बिदाई गरियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई बिदाई गरिए कै दिन अखिल नेपाल फुटबल संघ एन्फाको रवैयाप्रति प्रश्न उठेको छ । कतार जाने नेपाली टोलीमा एन्फाले थप ८ पदाधिकारीको जम्बो टोलीलाई पनि समावेश गरेको छ ।

फुटबल सम्वद्ध पदाधिकारीहरु टोलीसँगै विदेश जानु र वैदेशिक फुटबलबारे जानकारी लिनु र त्यसलाई स्वदेशको फुटबलमा व्यवहारिक रुपमा प्रयोग गर्नु पर्ने हो तर त्यसो कहिल्यै हुन सकेको छैन । टोलीसँग पुग्ने अधिकांश पदाधिकारीहरु घुम्ने माहोल बनाएर टोलीसँग विदेश भ्रमणमा पुग्ने गर्दछन् ।

एन्फाले ती पदाधिकारीहरुको ठाउँमा लजिस्टिक म्यानेजर, स्पोर्टस मेडिसिन डाक्टर, प्राविधिक अध्ययन टोलीहरुलाई समावेश गर्न सक्थ्यो तर त्यसो कहिल्यै गरेको पाईंदैन । एन्फासँग प्राविधिक अध्ययन टोली छैन । नेपाली टोलीसँगै जाने त्यत्रो जम्बो पदाधिकारी टोलीको आवश्यकता किन त ? यसबारे कसैसँग ठोस जानकारी छ या छैन ? त्योबारे पनि सोधखोज हुनु जरुरी छ ।

एन्फाको केन्द्रिय चुनाव यहि चैत्र १४ गते हुने भनिए तापनि ललितपुर उच्च अदालतले एन्फाको सो निर्वाचन र अधिवेशनलाई तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरिसकेको छ । एन्फाको वर्तमान नेतृत्व पक्षले केन्द्रिय चुनावका लागि मत आफ्नो पक्षमा पार्न चालेको अर्को खेल त होईन ? प्रश्न उठ्न थालेको छ ।

यसपटक एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान उपाध्यक्ष मणि कुँवर भिड्दै छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीसँगै कतार जाने अन्य पदाधिकारीहरु :

राजेन्द्र लामा, निराजन डंगोल, सुमन श्रेष्ठ, रमेश श्रेष्ठ, अजय बुदथापा, पवन कार्की, मोदिनी घिमिरे, रमेश अधिकारी

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर: किरण चेम्जोङ, एलन न्योपाने, विकेश कुथु

डिफेन्डर: बिराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ

मिडफिल्डर: बिशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट, भरत खवास

फरवार्ड : बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा


प्रतिक्रिया दिनुहोस

Loading...