मेयरकप फुटबलको उपाधी मेचीनगर नगरपालिकालाई

इलाम (खेलदैनिक) । करफोकमा सम्पन्न प्रथम आमन्त्रण सुर्योदय मेयरकप फुटबल प्रतियोगिताको उपाधी मेचीनगर नगरपालिकाले जित्न सफल भएको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक सुर्योदय नगरपालिकाको चुनौती ट्राइवेकरमा ३–१ ले पन्छाउदै मेचीनगरले उपाधी उचालेको हो । उपाधीसंगै मेचीनगरले नगद १ लाख र उपविजेता नगद ७० हजार प्राप्त ग¥यो ।

निर्धारित समयमा दुवै टिमबाट ३–३ गोल भएपछि निर्णय ट्राइवेकरबाट गरिएको थियो । पहिलो हाफको १३ औ मिनेटमा मेचीनगरले अग्रता लिएको थियो । आयोजकका लागि अमित राईले डिएरियामा हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेचीनगरका पुजन उपरकोटीले आफनो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अग्रता कायम भएको ५ मिनेट नवित्दै सुर्योदयका संजोग खडकाले मेचीनगरको गोलकिपर मनोज प्रधानलाई विट गराउँदै खेल बराबरीमा ल्याए । पुनः ३२ औ मिनेटमा सुर्योदयका सचिन योल्मोले आफनो टिमको अग्रता बढाए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको दोश्रो हाफको छैटौ मिनेटमा मेचीनगरका एन्जल गुरुङले आयोजकका गोलकिपर बिशाल थार्मीलाई विट गराउदै खेल बराबरीमा ल्याएका थिए । निरन्तर दबाब झेलेको आयोजकले दोश्रो हाफको १९ औ मिनेटमा गोल खान पुग्यो । डिफेन्डर अमित राईको गल्तीको फाइदा उठाउँदै मेचीनगरका निसान लिम्बुले अग्रता ३–२ बनाएका थिए ।

खेलको ६१ औ मिनेटमा सुर्योदयका रविन राईले काउन्टरमा गोल गर्दै खेल रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछिकोे खेलमा दुबै टिमबाट गोल नभएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो । ट्राइबेकरमा मेचीनगरका एन्जल गुरुङ, पुजन उपरकोटी र निसान लिम्बुको प्रहारले जाली चुम्यो भने मुन्ना सुव्वाको प्रहार गोलरक्षकले बचाएका थिए ।

त्यसैगरी आयोजकका आशिस राईको प्रहारलेमात्र जाली चुम्न सक्यो । गोलरक्षक बिशाल थामी र सुरज रावतको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो भने समिर तामाङको प्रहार गोलरक्षकले बचाउदै आफनो टिमलाई जित दिलाएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेचीनगरका दिवस उराउ घोषित भए । प्रतियोगिताभरीको सर्वोत्कृष्ट टिम शिवसताक्षी र ४ गोल गर्दै आयोजकका संजोग खडका सर्वाृधिक गोलकर्ता घोषित भए ।

बिजेता टिमलाई १ लाख २५ हजार प्रचार गर्दै १ लाखमात्र नगद

आयोजक सुर्योदय नगरपालिकाले बिजेता टिमलाई नगद १ लाख २५ हजार र उपबिजेता टिमलाई नगद ८५ हजार प्रदान गर्ने भन्ने मिडियाबाजी गरेको थियो । तर प्रतियोगिताको फाइनल जित्ने मेचीनगर नगरपालिकाले नगद १ लाख रुपैयामात्र प्राप्त ग¥यो भने उपविजेता बनेको आयोजक टिमलाई ७० हजार मात्र नगद प्रदान गरियो ।

२५ प्रतिशत कर समावेश गरेर पुरस्कार राशी घोषणा गरिएको र वितरणको समयमा कर कट्टी गरिएको सुर्योदय नगरपालिकाका प्रवक्ता पेमा उर्गेन लामाले बताए । प्रतियोगिताको पत्रकार सम्मेलनमा आयोजक समितीको संयोजक एबम नगरपालिकाको उपप्रमुख दुर्गादेवी भट्टराईले पुरस्कार राशी १ लाख र ७० हजार घोषणा गर्दा नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले कर समावेश सहितको घोषणा गरिन्छ भन्दै विजेतालाई १ लाख २५ हजार र उपविजेता टिमलाई ७५ हजार प्रदान गरिने घोषणा गर्न लगाएका थिए ।

एन्फा रेफ्री लाक्पा तामाङले प्रतियोगिताको पुरस्कार राशी कर सहित वा कर बाहेक भन्ने नहुने बताए । उनले भने ‘फुटबल प्रतियोगितामा जति पुरस्कार राशी घोषणा गरिन्छ त्यसमा कर कट्टा गरिदैन । ’


प्रतिक्रिया दिनुहोस

Loading...